स्थानीय निर्वाचनको मूल्यांकन र निर्वाचित जनप्रतिनिधिको काम हेर्न नभ्याउँदै प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोल शुरू भएको छ । राजनीतिमा चाख र चासो हुनेलाई यो रोचक हुनसक्छ । तर जति निर्वाचन र परिणाम आए पनि महँगी र अराजकता, हुने र नहुनेबीच बढ्दो खाडलले आम नागरिकलाई दिक्क पनि लागेको हुनसक्छ । निर्वाचन भनेको आफू निर्वाचित हुने र त्यसको लाभ आफू र आफ्नालाई दिलाउने दलहरूको संस्कार बस्यो । त्यसैकारण नागरिकले स्थानीय निर्वाचनमा स्वतन्त्र उमेदवारलाई रोज्न पुगे । जब अति महशुस हुन्छ र निराशा बढ्न थाल्छ तब विकल्पको खोजी हुनु मानवीय स्वभाव नै हो । एकातिर पुरातनवादी परम्परा, शासकीय प्रणाली मन नपर्ने अर्कातिर नयाँलाई चुनाव गर्न नसक्ने नागरिकको धारणा र निर्णय क्षमताकै कारण सुशासन पाउन, निर्धक्क बाँच्न र हाम्रो लोकतन्त्र भनेर गर्व गर्ने ठाउँ नभएको त हो । निर्वाचन भनेको आफू निर्वाचित हुने र त्यसको लाभ आफू र आफ्नालाई दिलाउने दलहरूको संस्कार बस्यो । त्यसैकारण नागरिकले स्थानीय निर्वाचनमा स्वतन्त्र उमेदवारलाई रोज्न पुगे । जब अति महशुस हुन्छ र निराशा बढ्न थाल्छ तब विकल्पको खोजी हुनु मानवीय स्वभाव नै हो । निर्वाचनमा जसले विजय हासिल गरे पनि त्यो विजयमा जनमत छ । अब नेतृत्वलाई सरापेर कुनै काम छैन । किनकि कर्म गर्नुअघि त्यसको परिणाम कस्तो आउँछ त्यो पनि समयमै ख्याल गर्नुपर्छ । कर्म गरेपछि त परिणाम आई नै हाल्छ । आखिर हाम्रो रोजाइले किन सोचे अनुरूप परिणाम दिँदैन त ? किनकी हामीलाई केन्द्रलाई बिर्सेर सतही कर्म र सतही परिणाममा रमाउने बानी भइसक्यो । केन्द्र हो आफ्नो जीवन, जीवनको रहस्य, जीवनमा आफू हुनुको खोजी अनि जीवनमा सही, सत्य र आवश्यक चिजको रोजाइ गर्न सक्ने विवेक । जब यी मूलभूत कुरा जीवनबाट ओझेल पर्छन् तब सबै रोजाइ हतासका, वासनायुक्त, लोभ र स्वार्थले भरिएका हुन्छन् । जब लोभ र स्वार्थ भरिन्छ अनि भय जीवित हुन्छ । भयको कारण असत्य र अनावश्यक रोज्न पुग्दछ मानिस यसमा दुईमत नै छैन स्वार्थ जोडिएका चिज र मैले पाउनुपर्छ भन्ने लागेका चिज आफूलाई प्राप्त नभएर अरूलाई प्राप्त हुन्छ कि ! यसकै भय र चिन्ताले मानिस सही रोजाइबाट चुक्छ र जीवनभर पछुताउँछ ।
अपेक्षा के को ?
सिकन्दर युद्धका लागि भारत आएका थिए । युनान फर्किने क्रममा थिए । उनका मित्रले भने– भारतबाट फर्किंदा एकजना सन्यासी लिएर आउनु । सुन, चाँदी, हीरा, मोती, दौलत हामीसंगै छ, केवल सन्यासीको खाँचो छ लिएर आउनू । सिकन्दरले युद्धमा सबै लुटिसकेका थिए । तर सन्यासीको उनलाई याद भएन, जब याद गरे तब सिपाहीलाई भने– जाओ गएर एक सन्यासीलाई समातेर ल्याओ । सिपाहीहरू गाउँ पसे । सोधपुछ गरे, ‘सन्यासी कहाँ छन ? उनलाई लिएर आउनु भन्नुभाछ सिकन्दरले ।’ गाउँलेले एकजना सन्यासी भएको ठाउँ देखाइदिए र भने, ‘गएर सोधी हेर । हामीलाई विश्वास लाग्दैन कि उनी सिकन्दरको पछि लागेर जानेछन् ।’ सिपाहीहरूले भने त्यसको चिन्ता नभएको बताए । उनीहरूको बुझाए थियो, ‘हामीसँग यति धारिलो हतियार छ । त्यो देखेपछि उनलाई जीवनको माया लाग्नेछ । अनि हाम्रो पछि लाग्नेछन् ।’ सिपाहीहरू सन्यासीको नजिक गएर सबै बेलिबिस्तार लगाए । तर सन्यासी सिपाहीहरूको अनुहारमा हेरेर हाँस्न थाल र भने, ‘तिमीहरू मलाई लग्न सक्नेछैनौ ।’ सिपाहीले धम्की दिए, ‘तिमीलाई ज्यानको माया छैन ?’ सन्यासीले हाँस्दै भने, ‘यो धारिलो तरबारले तिमीहरूले मेरो गर्धन काट्नेछौं । तर मलाई भय छैन । किनकी जुन दिनदेखि भय हट्यो त्यहि दिनदेखि म सन्यासी भएको हुँ । अब कुनै चिज, कुनै परिस्थिति र कुनै व्यक्तिप्रति भय बाँकी छैन किनकी अब आशा, स्वार्थ र लोभ बाँकी छैन ।’ सिपाहीहरूलाई आश्चर्य लग्यो, पहिलो पटक मृत्य’ र हतियारसँग भय नभएको मानिस देखेका थिए, उनीहरूले । एउटा सिपाहीले ती सन्यासीको गर्धनमा नांगो तरबार राख्ने कोशिस ग¥यो । तर उसको हात नै लुलो भयो कुनै शक्ति आएन । जो डराउँथ्यो उसलाई आक्रमण गर्न सिपाहीलाई मजा आउँथ्यो। तर, जसलाई मृत्यु र तरबारको भय छैन उसलाई मारेर पनि के फाइदा ? उनीहरू रोकिए । सबै सिपाही फर्केर गए र सिकन्दरलाई सबैकुरा बताए । यो सुनेर सिकन्दर आफैँ सन्यासी छेऊ गए । उनले सन्यासीलाई भने, ‘तिमीले जे भन्यो त्यही दिएर, सम्मान दिएर, राज्य दिएर, सम्राट बनाएर राख्छु मसँग हिँड।’ सन्यासीले हाँस्दै भने, ‘मलाई दिने कुरा तिमीसँग छैन र तिमीसँग भएका कुरालाई मैले जीवनबाट पहिले नै त्यागिसकेको छु । अब मलाई तिमीसँग भएका विषय वासनाले छुन सक्दैन । मलाई कुनै लोभ, आशा, स्वार्थ र भय छैन, कुनै अहंकार छैन ।’ सिकन्दरले भने, ‘तिमी मसँग जानु त पर्छ नै । नत्र म तिम्रो गर्धन छिनेर भुइँमा राखिदिन्छु ।’ सन्यासी फेरि हाँस्न थाले र भने– मेरो गर्धन छिनेर भुइँमा राखे पनि म मर्दिन, तिमीलाई गर्धन नै जीवन हो भन्ने छ त्यसैले मृत्युसँग डर लाग्छ । जब मेरो गर्धन भुइँमा खस्छ त्यतिबेला पनि म मेरो गर्धन देख्न सक्छु, तिमीले पनि भुइँमा खसेको मेरो गर्धन देख्न सक्छौ । तर, फरक यो छ कि मैले तिमीलाई पनि देख्न सक्छु, तिमीले मलाई देख्न सक्ने छैनौ । भनिन्छ सिकन्दरले यो कुरा आफ्नो इतिहासमा पनि लेखे, ‘मैले सबैलाई जितेँ तर सन्यासीलाई सकिनँ। जो मृत्युसँग डराउँथ्यो, उसलाई मात्रै मैले जितेको रहेछु । जसलाई मृत्युको नै डर छैन, म ऊसँग हारे । अब प्रश्न उठ्छ– नेतृत्वकर्ता राजनीतिक दलको कुन कुराले हामी भयमा छौँ र उनीहरूले सधैँ हामीलाई जितिरहेका छन ? थाहा हुँदाहुँदै पनि हामी आफू हारेर उनीहरूलाई जित्न दिइरहेका छौँ । पछुताइरहेका पनि छौंँ ।
आफ्नो अस्मिता के हो ? जीवनको उद्देश्य के हो ? शान्ति, प्रेम, आनन्द र विकास कसलाई चाहिएको हो ? को बाट यी प्राप्त हुने हुन ?
जीवन नै स्थायी छैन भने कुन स्थायी चिज हामी नेतृत्व र शासन प्रणालीबाट चाहेका छौँ र किन पाएका छैनौँ ? कसको स्वार्थले, कसको कर्मले, कसको व्यवस्थापनले ? एकपटक सोच्ने कि!
जीवनको खोजी के त ?
यसो हेर्दा त लाग्छ भौतिक सुविधा, सहजता, आफ्नोपन, मान–सम्मान, सम्पन्नता यही नै जीवनको खोजी हो । चाहे त्यो राजनीति मार्फत प्राप्त गर्ने प्रयास होस् या व्यापार–व्यवसाय या धर्मबाट धर्म के हो ? निजतालाई जान्नु, निजतामा रमाउनु, आफ्नो आत्यन्तिकता, आफ्नो उमंगमा बाँच्न सक्नु धर्म हो । दोस्रोप्रतिको चिन्ता, चासो, गुनासो यहि त विद्रोह र राजनीतिको गुण हो । परम्परा, रूढिवादिता छुट्छ कि भन्ने भय यही नै राजनीति हो । भन्न त भन्छन् राजनीति परिवर्तनको द्योतक हो । तर, होइन नयाँ रूपान्तरण राजनीतिले ल्याएकै छैन । नयाँ व्यवस्था कागजमा आउँछ । व्यवहारमा आउँदैन । यो त सबैको अनुभूतिमा छ । विश्वासको पछि लाग्दा आफ्नो बोध के त्यो पनि छुट्ने अवस्था छ । अरुले जे भन्यो, जता देखायो, जुन कुरामा विश्वास दिलायो त्यति दौडिने बानी छ अनि परिणाम आएपछि सोच्छ मानिस, ‘मैले त यस्तो चाहेको थिइनँ ।’ हाम्रो निर्भरता कोसँग किन छ ? आत्मनिर्भरता हुने हो भने भय हुन्छ कि हुन्न ? परस्परनिर्भरता पनि मानिसको गुण हुनसक्छ ? खोजी भएको छैन अन्तर्मनसम्म बोध हुन पाएको छैन अन्तरात्मासम्म । त्यो अन्तरमनसम्म पुग्ने भाषा भनेको मौन हो, शुन्यता हो र शान्ति हो । तर, हामी संसारमा भाषण, घोषणापत्र, नीति, नियमका ठेलीले विश्वस्त पार्ने कोशिस गछौँ । अनि परिणाममा बोलेजस्तो हुँदैन ।
यसो हेर्दा त लाग्छ भौतिक सुविधा, सहजता, आफ्नोपन, मान–सम्मान, सम्पन्नता यही नै जीवनको खोजी हो । चाहे त्यो राजनीति मार्फत प्राप्त गर्ने प्रयास होस् या व्यापार–व्यवसाय या धर्मबाट । सधैँ झैँ बुद्ध शान्त प्रसन्न मुद्रामा आफ्ना शिष्यहरूलाई ज्ञान बाँड्न बगैँचामा आउनु भयो । शिष्यहरू आतुर थिए आज गुरूबाट कस्तो ज्ञान मिल्ने होला भनेर । बुद्ध आउनुभो । रूखमुनि लगाइएको आफ्नो आसनमा बस्नु भयो । उहाँको हातमा सधैँ भन्दा फरक एउटा थुंगा फूल थियो । बुद्धले त्यही फूललाई हेर्नु भयो । मुस्कुराउनु भयो । पाँच मिनेट बित्यो, १० मिनेट बित्यो, आधा घण्टा बित्यो, एक घण्टा बित्यो बुद्ध केही बोल्नु भएन । शिष्यहरू एक अर्कामा मुखामुख गर्दै थिए गुरूले के भन्नुहोला भन्ने । तर, दुई घण्टा पछि बुद्ध केहि नबोली सबै शिष्यको अनुहारमा हेर्नु भो र मुस्कुराउँदै आफ्नो कोठातिर लग्नु भयो । मौनताको सन्देश दिन बुद्धले दुई घण्टा साधकको सान्निध्यमा रहनुभयो । तर साधकहरू शब्दकै पर्खाइमा समय खेर फाल्छन् । गाह्रो हुन्छ मौनता सामान्य मानिसलाई । शब्द नै शब्द र तर्कलाई मात्र उसले विश्वास गर्छ । शब्दमै ऊर्जा खर्चिन्छ । त्यही शब्दले विवाद ल्याउँछ । तिनै शब्दले विद्रोहमा लैजान्छ । बोलेर भन्दा बोध गरेर पनि कर्मलाई सार्थकता बनाउन सकिन्छ भन्ने कुरा बुद्ध अर्थात् सन्तलाई मात्र बोध हुने होइन सबै मानिसलाई हुन्छ । त्यसको लागि केवल धैर्य र आन्तरिक श्रवण, आत्मिक चिन्तन र अन्तरचेतनासँग साक्षात्कार हुने समय छुट्टयाउन जरुरी छ । बहिर्मुखी विकासको लागि जति मिहिनेत र ऊर्जा खर्च भएको छ त्यसको थोरै समय पनि आत्मिक चिन्तनमा दिने हो भने मानिसले गर्न खोजेको र पाउन खोजेको कुरा पाउने मात्र होइन कि जीवनको वास्तविक खोज पनि अनुभूति गर्न सकिन्छ ।
साभार थाहा खबर









